Tuesday, 3 March 2020

स्वस्थ शरीरको लागि उपयुक्त जीवनशैली


स्वस्थ शरीरको लागि उपयुक्त जीवनशैली 


    मानव शरीर एक अद्भुत भगवानको निवासस्थान हो | यस पंचभौतिक शरीरलाई  भगवानको मन्दिर सम्झेर सदैव आरोग्यको रक्षा गर्नु पर्दछ| स्वस्थ शरीरमा नै स्वस्थ मनको निवास हुन्छ| शरिरिरुपी जीवको लागि स्वास्थ्य पहिलो आवश्यकता हो| तेसैले त विभिन्न शास्त्र एवं विद्वानले स्वास्थ्यलाई पहिलो धनको रुपमा स्वीकार गरेको पाईन्छ| पूर्ण आरोग्यताले नै मनुष्य जीवनको सार्थकता बताउदछ| स्वस्थ रहेर नै मनुष्यले आफ्नो लौकिक एवं पारलौकिक कर्तव्यको पुरा गर्न सक्दछ| पूर्ण आयु र दिर्घ स्वास्थ्य उसैले प्राप्त गर्न सक्दछ जसको जीवनशैली नियमित छ, आहार प्राकृतिक छ अनि विचारशैली सात्विक(सकारात्मक) छ | पूर्ण स्वस्थ व्ताक्तिले नै आफ्नो काम कर्तव्यलाई सशक्त रुपमा पुरा गर्न सक्दछ| पूर्ण स्वास्थ्य प्राप्तिको लागि नियमित एवं प्राकृतिक दिनचर्या अपनाउनु नितान्त आवश्यक छ जसको लागि निम्न कुरामा ध्यान दिनुपर्दछ |

१.       १. प्रातकालीन ध्यानबाट दिनचर्याको सुरुवात गरौ
       प्रातकालीन जागरणको समय ब्रह्ममुर्त अर्थात बिहान ३ बजे देखि ५ बजे भित्र गरिसक्नु पर्दछ| मनुष्य जीवनको दिनचर्या प्रातकालीन ध्यानबाट सुरुवात गर्नुपर्दछ| जसलाई आत्मबोध साधना भन्दछौ| विस्तारामा ब्युझिएपछी जुरुक्क उठ्नु हुदैन| २ मिनट जति शरीरका प्रत्येक अंगलाई चलाउनु पर्दछ| शरीरको खुट्टाबाट ध्यान लगाउदै टाउको सम्म चलाउदै आउनु पर्दछ| त्यस पछी बायाँ कर्वट फर्केर उठ्नुपर्दछ| उठेपछि झ्याल ढोकाहरू खोलेर विस्तारामा पलेटी कसेर बस्ने | १० चोटी सम्म लामो अनि गहिरो श्वासप्रश्वास गर्ने अनि आज को दिनको लागि भगवानलाई धन्यवाद दिने| मनै-मन आफ्नो माता-पिता अनि गुरुलाई प्रणाम गर्ने| नयाँ दिनको सुरुवात अत्यन्त उमंगको साथ गर्ने| मनैमन दिनभरिको योजना बनाउने अनि 3 चोटी आफ्नो लक्ष्य एवं उद्देश्यलाइ याद गर्ने| अब एउटा संकल्प लिने दिनभरिको लागि एउटा नराम्रो क्रियाकलाप छोड्ने अनि एउटा राम्रो क्रियाकलापलाइ अबलम्बन गर्ने| अन्त्यमा 3 चोटी लामो गहिरो श्वासप्रश्वास गरेर आँखा खोल्ने|

२.       २. शरीर एवं मन शुद्दीकरणका क्रिया गर्ने
          आत्मबोध साधना पछी २ गिलास जति मनतातो पानि पिउने जसलाई हामि उषापान भन्दछौ| उषापानपछी केहि समय शरीरलाइ तन्काउने दायाबाया मर्काउने अनि शौचको लागि जाने| प्रात: काल सुर्योदय भन्दा पहिले मल मुत्र त्याग गर्नाले पूर्ण स्वास्थ्य को प्राप्ति हुन्छ| मल र मुत्रको वेगलाई कहिले पनि रोक्नु हुदैन यदि रोकियो  भने यहि कारणले रोगको सुरुवात हुन्छ| शौच गर्दा दुवै हातलाई मुठी कसेर दांत जोडेर बस्यो भने पेट राम्रो संग सफा हुन्छ शौच पछी 3-4 पटक गुदद्वारलाई संकुचन एवं प्रकोंचन गर्ने | शौच पछी स्नान गर्ने| स्नान गर्दा पहिले टाउको बाट सुरु गर्ने| टाउकोमा जहिले पनि शरीरको तापक्रम भन्दा कम अर्थात् हल्का चिसो पानीको प्रयोग गर्ने अनि हात-खुट्टा अनि शरीरको स्नान मनतातो पानीले गर्ने| जाडोको समयमा स्नान जति सक्दो छोटो गर्ने| स्नान पछी रुमाल भिजाएर मजाले निचोर्ने अनि सम्पूर्ण शरीरको घर्षण गर्ने। त्यसपछी एउटा सुक्खा रुमालले सम्पूर्ण शारिरलाई पुछ्ने| न्यानो कपडा लगाउने धेरै जाडो छ भने सिरक ओडेर केहि समय विस्तारामा आराम गर्न सकिन्छ। तेसपछी दन्त धावन अर्थात् दांतको सफाइ गर्ने। दांत मानव शरीरको आधार हो| दांत स्वस्थ एवं मजबुत भएमात्र आंतले काम गर्न सक्छ| यसको स्वस्थता एवं मजबुतीको लागि आधुनिक रासायनिक पेस्टहरू भन्दा वन्य जडीबुटीको प्रयोग गर्नु बुद्दिमता मानिन्छ| जसको लागि दत्तिवन, सजिवन, बाबुल, खदिर, अर्जुन, नीम आदिका काण्ड प्रयोग गर्न सकिन्छ| यसरी दाँत सफा गर्दा दाँत मोति जस्तै चम्किलो र दृढ बन्दछन्| नीम को काण्डले दन्त धावन गर्दा दाँत मा किरा लाग्दैन| दाँतको सफाइ पछी जिब्रोको सफाई पनि आवश्यक छ| जुन काण्डले दाँतको सफाई गरिन्छ तेसैले जिब्रोलाई पनि सफा गर्न सकिन्छ| तेसपछी मजाले सफा पानीले मुखको कुला गर्नुपर्दछ| शरीर शुद्दिको लागि वमन क्रिया, जलनेती, सुत्रनेती, एनेमा तथा शंख प्रक्षालन जस्ता क्रियाहरु दक्ष योग प्रशिक्षकको निगरानीमा रहेर गर्न सकिन्छ।

३.       ३. चंक्रमण एवं योग व्यायामको अभ्यास गरौँ
             शरीरको सफाइ पछी यसलाई तन्दुरुस्त एवं दृढपुर्वक सक्रिय राख्नको लागि योगा व्यायाम अबको समयमा नितान्त आवश्यक भइसकेको छ| जीवन रक्षाको लागि जसरि आहारको आवश्यकता छ तेसरी नै योगा व्यायामलाई पनि स्वास्थ रहनको लागि संजीवनी मानिन्छ| अस्तव्यस्त जीवनशैलीको कारण आज व्यायाम असम्भव जस्तै बनेको छ| जसको फलस्वरूप आजका मानिसहरूमा जिर्ण रोग जस्तै मधुमेह, उच्च रक्तचाप, दम, बाथ, डिप्रेसन जस्ता रोगहरुले तिब्र रुपाले आक्रान्त बन्दै गएका छन्|शरीरको शुद्धि क्रिया पछी आवश्यकता अनुसार मह पानि कागती पानि या दुवै मिलाएर २ गिलास जति पिउने अनि आफ्नो समय अनुसार १० मिनेट देखि १ घण्टा सम्म शान्त एवं मनोरम ठाउमा चंक्रमण(Morning Walk) गर्नुपरदछ| चंक्रमण गर्दा कसैसित बातचित गर्नु हुदैन अनि श्वासप्रश्वासको तालमा नै आफ्नो खुट्टाको चाल बनाउनु पर्दछ| चंक्रमण पछी सफा हावादार ठाउँमा बसेर आराम गर्नुपर्दछ| आराम पश्चात शरीरको हल्का व्यायाम गरेर योगा व्यायाम सुरु गर्नु पर्दछ| व्यायामले केवल शरीरको सतही रुपमा काम गर्दछ भने योग व्यायामले शरीरको सुक्ष्म तहमा कार्य गर्दछ| योग व्यायामको लागि आफ्नो आचार, बिचार एवं आहारमा संयम रहनु जरुरी छ| योग व्यायाम गर्दा स्थुलबाट सुक्ष्मतातिर क्रमबद्द रुपमा गर्नुपर्दछ| योग व्यायामको अभ्यास गर्दा उठेर गरिने आसन बाट सुरुवात गर्नुपर्दछ| उठेर गरिने आसनमा शरीर तन्काउने, शरीर दायाबाया झुकाउने, अगाडी पछाडी झुकाउने तथा दायाबाया मर्काउने खालका अभ्यास गर्नुपर्दछ| जसमा ताडासन, तिर्यक ताडासन, पादहस्तासन, उर्ध्वासन, कट्टीचक्रासन जस्ता व्यायाम गर्नुपर्दछ| तेसपछी बसेर गरिने योगासनका अभ्यास गर्ने जसमा बज्रासन, उष्ट्रासन, बकासन, मंदुकासन पश्चिमाउत्तासन, अर्ध मत्स्यन्द्रासन का अभ्यास गर्नु पर्दछ| अब सुतेर गरिने योगासनका अभ्यास गर्ने| जसमा पहिले उत्तानो परेर गरिने र घोप्टो परेर गरिने अभ्यास क्रम मिलाएर गर्नुपर्दछ| उत्तनापादसना, अर्ध हलासना, सेतुबन्धासना, नौकासना, विपरित नौकासना, भुजंगासना जस्ता अभ्यासहरू गर्नुपर्दछ|
      योगासनका अभ्यास पश्चात अब प्राणायामको अभ्यास गर्नुपर्दछ| शारीरिक स्थिति र रोग अनुसार विभिन्न प्राणायामका अभ्यास गर्नुपर्दछ| यसको लागि योग प्रशिक्षक संग तालिम लिनु पर्दछ| प्राणायाम को साथ साथ बन्ध मुद्रा का अभ्यास पनि गर्न सकिन्छ| योग व्यायामको अन्त्यमा ध्यानको अभ्यास गर्नुपर्दछ|

४.      ४. उपयुक्त आहार एवं सहि समयको निर्धारण गरौ
          अन्ननलीबाट जे जति कुराहरु हामि ग्रहण गर्दछौ तेसलाई आहार भानिन्छ| आहार सम्पूर्ण जीवनको लागि जीवित रहन आवश्यक छ| आहार नै विभिन्न धातुमा परिणत भएर शरीरलाई शक्ति, पोषण एवं प्रतिरक्षा प्रणालीको विकास गर्दछ| प्राणीहरुको लागि आहार अमृततुल्य हुन्छ तर अनिती पुर्वक गरिएको आहार विष समान हुन्छ| अत: स्वस्थ रहनको लागि भोजन को ज्ञान हुन आवश्यक छ| प्रत्येक मनुष्यको भोजन देश, काल, आयु, प्रकृति, एवं कार्य अनुसार फरक फरक हुन्छ| स्वस्थ्य तब मात्र अनुकुल रहन्छ जब आहारलाई यथोचित मात्रामा मिलाएर ग्रहण गरिन्छ| आहार शरीरलाई पुष्ट गर्ने, बल कारक, शरीरले धारण गर्ने खालको, आयु, तेज, उत्साह, स्मृति, ओज बढाउने खालको हुनुपर्दछ| आहार ग्रहणको सम्बन्धमा पांच सुत्रहरु याद गर्नु पर्दछ| के खाने? कति खाने? कतिबेला खाने? किन खाने? कसरि खाने? यी कुरा जान्नु जरुरी छ:-
   के खाने: मनुष्यले जहिले पनि हितकारी पदार्थको नै सेवन गर्नु पर्दछ| शरीरद्वारा ग्रहणशील, सजिलै पाचन हुने, ग्रहण पश्चात कुनै प्रतिकुल प्रभाव नगर्ने र शरीर तथा मनको उपयुक्त वृद्धि विकास गर्ने खालको आहार खाने गर्नु पर्दछ|

   कति खाने: "मिताशी स्यात्" अर्थात थोरै मात्रामा खाने| भोजन जति नै स्वास्थ्यवर्द्धक किन नहोस तेसको उचित मात्राले नै शरीरलाई फाइदा गर्दछ| भोजन हर व्यक्तिको कार्यविभाजन अनुसार नै ग्रहण गर्नुपर्दछ| आहार को मात्रा आमाशयको क्षमताको तीन भागको दुई भाग लिनु पर्दछ बाकि एक भाग पानि र वायुको लागि छोदिदिनुपर्दछ| सदैव आफ्नो भुख भन्दा कम र बेस्सरी चपाएर खाने गर्नुपर्दछ| 

   कति बेला खाने: आहार तेज भोक लागे पछी मात्र लिने गर्नु पर्दछ| जसले गर्दा आमाशयमा स्थित जठार अग्नि बलियो हुन्छ र भोजन राम्रोसंग पाचन हुन्छ| अल्पाहार दिनमा २ चोटी अनि पूर्ण आहार केवल दिनमा २ चोटी खानु पर्दछ| खाजा ६-८ बजे सम्म अनि बिहानको खाना ९-११ बजे भित्र दिउसो को खाजा १-३ बजे भित्र र बेलुकाको खाना सुर्यास्त पुर्व नै ग्रहण गर्नुपर्दछ| बिहानको खाजामा अंकुरित गेडागुडी, फलफुलको रस वा दलिया रोटि लिन सकिन्छ भने दिउसोको खाजाको रुपमा फल, तरकारी रोटि लिन सकिन्छ| सकेसम्म खानाको समय नियमित एकै समयमा निर्धारण गर्नु पर्दछ|

किन खाने: भोजन गर्नुको उद्देश्य आफ्नो शरीरलाई स्वस्थ, निरोगी अनि बलवान बनाउनको लागि हो| तेसैले आहार जहिले पनि जीवित रहनको लागि खाने गरिन्छ न कि खानको लागि जीवित रहन|

कसरी खाने: प्रकृति प्रदत्त आहारलाई उसको गुण, धर्म, स्वाद र गन्धलाई नबिगारीकन खानु पर्दछ| ठोस आहारलाई बेस्सरी चपाएर तरल बनाउने अनि तरल आहारलाइ केहि समय मुखमा राखेर नै आमाशयमा पठाउनु पर्दछ| तेसैले भन्ने गरिन्छ पानी खानुपर्दछ आहारलाइ पिउनु पर्दछ| भोजन देखेर सदैव हर्षित एवं प्रसन्न हुनुपर्दछ| अनि बल्ल शरीरले राम्रोसंग ग्रहण गर्दछ| खाना खाने समयमा रिसाउनु, गफ गर्नु,मोबाइल चलाउनु TV  हेर्नु र पानी पिउनु पूर्ण रुपमा वर्जित छ|

५.       ५. उचित रुपमा समयको व्यवस्थापन गरौ
           आजको व्यस्त प्रतिस्पर्धात्मक भौतिक दुनियाको प्रमुख समस्या नै आफुलाई उचित व्यवस्थापन गर्दै समय संग चल्न नसक्नु हो| सम्पूर्ण कार्यको शस्त्र यो शरिर हो तर यो शरीरप्रति नै मानिस पूर्ण रुपमा लापरवाही छ| इन्द्रिय सुखलाई नै वास्तविक आनन्द ठान्ने भ्रमले गर्दा आज मनुस्य सम्पूर्ण रुपमा अस्तव्यस्त बन्दै गएको छ| कुनै पनि आत्मा-उन्नतिका कुरा गर्नु पर्दा मान्छेले भन्ने गर्छ  समय नै छैन तर तेही व्यक्ति भौतिक सुख प्राप्तिको लागि मनोरंजन भन्दै जति नै समय उपलब्ध गराउन सक्दछ| तेसैले सम्पूर्ण स्वास्थ्य प्राप्तिको लागि उचित रुपमा समयको व्यवस्थापन पनि नितान्त आवश्यक छ| प्रात:कालिन जागरण देखि राति सुत्ने समय सम्मका क्रियाकलापहरू योजनाबद्ध रुपमा उचित समय निर्धारण गरेर सम्पन्न गर्नुपर्दछ| कुनै पनि कार्यलाई पछी गरौला भोलि गरौला भन्नि टाल्नु हुदैन| 

६.       ६. रात्रि चर्याको नियमलाई नियमित पालना गरौ
         साँझको सुर्यास्त पछी हाम्रो रात्रि चर्या सुरुवात हुन्छ| मनुष्य जीवनलाई स्वस्थ एवं आरोग्य प्राप्तिको लागि रात्रि चर्या पनि नितान्त प्राकृतिक हुनुपर्दछ| रात्रि चर्यामा स्वाध्याय, आहार ग्रहण, हस्त-पाव प्रक्षालन, तत्वबोध साधना र सयन क्रियाहरू पर्दछन् | साँझमा नियमित ३०-६० मिनेट सम्म स्वाध्यायको लागि समय निर्धारण गर्नुपर्दछ| यो समयमा श्रेष्ठ पुस्तकहरुको अध्ययन, सत्संग, भजन, विद्द्वानका अमृत वचनको श्रवण आदि गर्न सकिन्छ| समुहमा आफ्ना ज्ञान, अनुभव आदान-प्रदान गर्न सकिन्छ| बेलुकाको आहार सुत्नु भन्दा २ घण्टा पहिले नै लिने र बिहानको आहार भन्दा थोरै अनि हल्का प्रकृतिको भोजन सेवन गर्नु पर्दछ| विस्तारामा जानु भन्दा पहिले यो जाडो मौसममा तातो खुट्टाको स्नान गर्न सकिन्छ| जसले गर्दा सम्पूर्ण शरीरमा रक्त संचार अत्यन्त अनुकुल बन्दछ र निद्रा राम्रो लाग्दछ| शरीरका दुखाइ तथा शुन्यपन हराउछ| सुत्नु भन्दा पहिले दुधमा हल्का बेसार राखेर पिउनु उत्तम मानिन्छ| रात्रिको अन्त्य तत्वबोध साधना बाट गर्नु पर्दछ| केवल ५ मिनेट को अभ्यासले नै असिमित फाइदा लिन सकिन्छ| यसको लागि विस्तारामा नै बसेर लामो गहिरो श्वासप्रश्वास गर्ने | दिनभरका कार्यहरुको स्मरण गर्ने अनि एक पटक स्वयंको मुल्यांकन गर्ने| आफ्नो सफलताको लागि सहयोगीलाई धन्यावाद दिने अनि गल्ति गर्नेहरूलाई क्षमा दिने| ३-५ चोटी भ्रामरी प्राणायाम गरेर भोलिको दिनको सुखद कामना गर्दै सयन गर्ने| सुत्नको लागि उपयुक्त समय ९-१० बजेको बिचको अवधि अत्यन्त उपयुक्त मानिन्छ|

   यसरि हामीले सामान्य नियम र योजना द्वारा आफ्नो उपयुक्त जीवनचर्या, नियमित दीनचर्या एवं प्राकृतिक आहारचर्यालाई हाम्रो जीवनमा अबलम्बन गरियो भने पूर्ण स्वस्थ्य प्राप्तिको लागि असम्भव छैन| २४ घण्टामा केवल एक घण्टा हामि हाम्रो शरीरको आरोग्यताको बारेमा सोच्यौ भने शरीरले सुख त पाउछ नै तेसको अलावा उपचार बाट खर्च हुने धेरै धन राशिलाई जोगाउन सकिन्छ| 
                                                 

                                                    लेखक: देवीलाल सुबेदी
                                                    योगाचार्य(एम.ए योग)
                                                    फोन न.: ९८४६२६८९६८

No comments:

Post a Comment